२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

‘सकारात्मक सोच आजको आवश्यकता’

शनिवार , श्रावण २४, २०७७

बुटवल, २४ साउन ।
मानिसहरुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ्य रहन सकारात्मक सोच र व्यायाम जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले सकारात्मक सोच जगाउने कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका छन् । 

शाखाका क्षेत्रगत संयोजकहरुको सहभागी कार्यक्रमलाई ईश्वरीय ब्रह्मकुमारी विश्वविद्यालय बुटवलका सह–सचिव भरत पौडेल भाईजीले सहजीकरण गर्दै सकारात्मक सोच र माईन्ड कन्ट्रोल विषयमा जानकारी दिएका थिए । नेगेटिभ सोचका कारण शरीरमा नेगेटिभ हर्मन बढ्ने, स्मरण शक्ति घट्छ, मुटुको धड्कन बढ्ने, रसिस्ट क्षमता घट्छ तथा शारीरिक रुपमा चाडो बूढो देखिने तर्क दिदै उनले ७५ देखि ९० प्रतिशत विचार र बाँकी अन्य कारणले मानिस बिरामी हुने विज्ञानबाट प्रमाणित भएको दावी गरे । 

श्वासप्रश्वास व्यायाम, विभिन्न रिलेकेसेसन पोजहरु, आध्यात्मिक साहित्यहरु, आध्यात्मिक व्यक्तिसंग संगत, योग मेडिटेसन नियमित गरेमा मानिसको रोगप्रतिरोधात्मक शक्ति बढ्ने उनले बताए । 

संघका अध्यक्ष सुरज भट्टराईले नैतिकता र आध्यात्मिकता ज्ञान अभावले मानिसमा नकारात्मक सोच बढ्दै गएको बताए । संघको वार्षिक कार्ययोजना निमार्णसंगै पदाधिकारी, सदस्यहरुलाई उत्प्रेरणा कार्यक्रम गरिएको उनले बताए । मानिसमा सकारात्मक सोच भए शारीरिक र मानसिक रुपमा स्वस्थ हुने उनले बताए । 

नेपाल औषधी ब्यवसायी महासंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष बाबुराम भट्टराई, नेपाल औषधी व्यवसायी संघ अञ्चल अध्यक्ष शिव ज्ञवाली, जिल्ला शाखाका विशेष सल्लाहकार डा. रोहितराज क्षेत्री, कार्यालय प्रमुख युवराज घिमिरेले वार्षिक कार्ययोजना निमार्णमा सहजीकरण गर्दै संस्थाको दिर्घकालिन योजना बनाउने, व्यवस्थित रुपमा कार्यक्रम गर्न तथा गरेका कामको मुल्यांकन सहज हुने बताए । संघका सदस्यहरुको हकहित, व्यवसायिक हकहित, सम्बन्ध विस्तार, तालिम गोष्ठी र विभिन्न सामाजिक काम लगायतमा रहेर काम गर्न १० बुँदा अन्र्तगत कार्यशालाबाट योजना तयार गरिएको छ । 

कार्यक्रममा संघका विशेष सल्लाहकार रामप्रसाद खरेल, सल्लाहकार जवाहरलाल न्यौपाने, महासचिव पुरुषोत्तम भट्टराईले मानव जीवनमा तालिम जरुरी रहेको बताए ।