२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

सोमवार , फाल्गुण २४, २०७७

तिलोत्तमा, २४ फागुन । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो ।  श्रमिक महिलाहरुको सम्मानको साथै उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन् ।

श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गरिन् ।

दिवसकै अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार : समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाको सहभागिता रहेको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन् । समुदायस्तरका महिलाहरुको सहभागिता रहेको प्रतियोगितामा महिलाहरुले आफूले भोगेका समस्याहरु समेत अभिव्यक्त गरेका थिए । प्रतियोगितामा ऋषिराम भुसाल, माया घिमिरे र मिनाक्षी न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैंगिक विभेद हट्ने बताउँदै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन् । पहिलेको तुलनामा विभेद धेरै हटेको बताउँदै उनले राज्यले बनाएका नीति/नियमको सही कार्यान्वयनले विद्यमान विभेद पनि हटेर जाने विश्वास व्यक्त गरिन् । तिलोत्तमा नगरपालिकाले समानतामुलक समाज निर्माण र यहाँका महिलाहरुमा उद्यमशीलताको विकास गराउन गरेका कामहरु प्रशंसनीय रहेको चर्चा गर्दै उनले सबैको एकताबद्ध प्रयासले मात्र समाजमा समानता कायम हुन सक्ने बताइन् ।

नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमालाई लैंगिकमैत्री नगरपालिका बनाउन थालिएको जानकारी गराउँदै महिलाहरुले समान कामको समान ज्याला पाउनुपर्छ भन्नेमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले रुढीवादी चिन्तन र व्यवहार त्याग्न सके मात्र समतामूलक समाज निर्माण हुने बताइन् । समान कामको समान ज्याला सम्बन्धी निर्णय तिलोत्तमा नगरपालिकाले यसअघि नैं गरिसकेको बताउँदै उनले यस बारेमा नगरपालिकामा कुनै उजुरी नआएको बताइन् । उनले कसैले समान कामको समान ज्याला नपाएको भए सप्रमाण उजुरी दिन सम्बद्ध सबैलाई आह्वान गरिन । महिलाहरुमा सीप विकासको लागि नगरपालिकाले विभिन्न तालिमहरु आयोजना गर्दै आएको बताउँदै उनले तालिम लक्षित वर्गमा पुर्याउन पछिल्लो समय फरक अभ्यासबाट अघि बढिएको जानकारी दिइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको स्वागत तथा ईन्दिरा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल लगायतले बोलेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, आमा समूह, क्लव, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।