
बिहिवार , कार्तिक ८, २०८१
बुटवल, ८ कार्तिक । आज संयुक्त राष्ट्र संघको ७९ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । त्यसैक्रममा मानवअधिकार तथा शान्ति समाजले पनि देशभर युद्ध निषेध : शान्ति विशेषको अपिल गर्दै प्रदर्शन गरेको छ । युद्ध निषेध : शान्ति विशेष भन्ने मुल नाराका साथ झण्डै आठ दशक अघि स्थापना भएको संयुक्त राष्ट्र संघले विश्वमा भइरहेका युद्ध र हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
रुपन्देहीको बुटवलमा भएको प्रदर्शनमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले युद्ध र हिंसा मानवता विरोधी अपराध भएको उल्लेख गरे । उनले विश्वका विभिन्न मुलुकबीच भइरहेको नरसंहारकारी युद्ध तत्काल अन्त्यका लागि माग गरे । रुस-युक्रेन, ईजरायल-प्यालेस्टाईन लगायत मुलुकमा भइरहेको मानवताविरुद्धको बर्बरतापुर्ण युद्ध र आतंक तत्काल बन्द गर्न अपिल गर्दै खनालले यसका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्र संघ समक्ष आग्रह गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानव अधिकारको एजेण्डामा पत्रकारहरु सदैव मानव अधिकार तथा शान्ति समाजको साथमा रहेकोे बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्व सभापति हरिश ढकालले हिंसाको भविष्य र शान्तिको विकल्प हुनै नसक्ने उल्लेख्य गरे । निवर्तमान सभापति खिमप्रसाद भट्टराई (कृष्ण) ले शान्ति समाजको अभियान युद्ध निशेष र शान्ति विशेषको रहेको बताए ।
जिल्ला सभापति अर्जुन ज्ञवालीले समाज, देश र विश्वमा शान्ति र अहिंसा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न सरोकारवाला समक्ष जोडदार माग गरे । उनले मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिन्साको लागि आफूहरुको अभियान लगातार लागिरहने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पत्रकारहरु सुमन अधिकारी, स्वस्तिक श्रेष्ठ, प्रकाश खनाल, फ्युचर स्टार क्लबका अध्यक्ष अमिर खड्का लगायत बुद्धिजीवि, समाजसेवी, नागरिक अभियन्ताहरु, शान्ति समाजका रुपन्देहीका पदाधिकारी, सदस्यको उपस्थिति रहेकोे थियो ।
कार्यक्रम कोषाध्यक्ष मोहनीलाल न्यौपानेको स्वागत, सभापति अर्जुन ज्ञवालीको अध्यक्षता तथा सचिव लिलाधर लुइँटेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रदर्शनमा इजरायली बर्बरता : विश्व शान्तिका लागि खतरा, हमास र हिजबुल्लाहको आतंक : विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरता : मानवताविरुद्धको अपराध हो, राष्ट्रसंघ : विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइ ?, राष्ट्रसंघ शक्ति राष्ट्रका अगाडि लाचार किन ?, मानव जातिको अस्तित्वका लागि युद्ध रहित विश्व आवश्यक, रुस : तत्काल युद्ध अन्त्य गर, अमेरिका : इजरायली बर्बरतालाई समर्थन गर्न बन्द गर, राष्ट्रसंघ बडापत्रको प्रस्तावना ः युद्धबिहिन विश्वको परिकल्पना, इजरायल : विद्यालयमाथिको आक्रमण बन्द गर, इजरायल : शान्ति सेनामाथि आक्रमण बन्द गर लगायतका नारासहितका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij