२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेविरुद्ध रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी

बिहिवार , कार्तिक ८, २०८१

भैरहवा, ८ कात्तिक । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ । 
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछानेसहित १२ जनामाथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको हो ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार सभापति लामिछाने, पूर्व डिआईजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । उनका अनुसार ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ । 

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो । रास्वपा सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका छन् । गोर्खा मिडियाका अध्यक्ष जिवि राईविरुद्ध यसअघि नै पक्राउ अनुमति पूर्जी जारी भइसकेको छ ।