२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भीम अस्पतालमा पित्तथैलीको पत्थरीको शल्यक्रिया सुरु

शुक्रवार , कार्तिक ९, २०८१

भैरहवा, ९ कार्तिक । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पित्तथैलीको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको सोमबार पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको हो।

रुपन्देहीकी ४२ वर्षिय सधिया खातुनको पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको भीम अस्पतालमा कार्यरत जनरल सर्जन डा. उत्सव कार्कीले बताए । ‘बिरामीले बारम्बार पेटको दाहिने भागमा दुःख्ने समस्या भएको बताएपछि चेकजाँच गरियो । चेकजाँच गर्ने क्रममा पित्तथैलीमा पत्थरी (ढुंगा) भेट्टायौं’ उनले भने,‘त्यसपछि शल्यक्रिया गरियो।’ 

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले भीम अस्पतालमा पहिलोपटक पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको बताइन् । उनले बिरामीलाई शुक्रबार डिस्चार्ज गरिएको जानकारी दिइन् । यो भीम अस्पतालको लागि गौरवको कुरा हो’उनले भनिन्, ‘आजसम्म पनि यति पुरानो अस्पतालमा यो शल्यक्रिया भएको थिएन । तर, अहिले सफल भएको छ । डा.उत्सव कार्की नेतृत्वको टीमलाई बधाई दिन चाहन्छु ।’ 

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले पित्तथैलीमा पत्थरी भए यो अपरेशन गरिने बताए । उनले भीम अस्पतालको इतिहासमा पहिलोपटक यो शल्यक्रिया गरिएको बताए । ‘अब यो शल्यक्रिया सेवा निरन्तर रुपमा सञ्चालन हुन्छ’ उनले भने, ‘दुरबिन विधिबाट शल्यक्रिया गर्नका लागि अस्पताल विकास समितिबाट पहल गर्छौं ।’

शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा र अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले बिरामीलाई पुषपगुच्छा दिएर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।