२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भ्रष्टाचार शुन्यमा झार्न पारदर्शी व्यवहार देखाऔं : मुख्यमन्त्री आचार्य

शनिवार , कार्तिक १०, २०८१

भैरहवा, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शुन्यमा झार्न नेतृत्व तहमा रहेकाहरुले पारदर्शी व्यवहार देखाउनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ को बारेमा शनिबार रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले वडा तहमा हुने भ्रष्टाचारका उजुरीलाई समेत हेर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई अधिकारसम्पन्न बनाइनुपर्ने समेत बताए ।‘ अख्तियारको प्रतिनिधिको रुपमा सिडियो हुन्थ्यो । त्यो व्यवस्था कायम गर्न जरुरी छ । किन कि तल वडा वडामा हुने अनियमिताहरुलाई पनि हेर्न जरुरी छ’उनले भने,‘सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौं । हामी सबै पारदर्शी बन्यौं भने मलाई लाग्छ यो भ्रष्टाचार आफै न्यूनीकरण भएर जान्छ । तपाईले नखाने, मैले नखाने, अर्काले नखाने हो भने यसै सकिन्छ त । त्यसोभएकाले यो सवालमा हामी सबै गम्भिर बनौं ।’

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पुर्याएकोसमेत उनले जानकारी दिए । भ्रष्टाचारलाई शुन्यमा झार्ने गरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको उनले बताए ।‘सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ । तपाई जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो’उनले भने,‘भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ । प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चहरुलाई कटौती गरेर अगाडि बढिरहेका छौं ।’

भ्रष्टाचार शुन्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तह लगायत जिम्मेवारीमा रहेकाहरुमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको समेत उनले धारणा राखे । जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शुन्यमा झार्न सकिने उनले बताए । ‘सबै तह र तप्काको नेतृत्व हरेक हिसावले सच्चिन जरुरी छ । राजनीतिक दलका नेता कार्यकर्ता भन्नुस्, जनप्रतिनिधि भन्नुस्, कर्मचारी साथीहरुको कुरा गर्नुस्, विभिन्न संघ–संस्थामा काम गर्ने अभियन्ताको कुरा गर्नुस्, नागरिक समाजको कुरा गर्नुस्, सामान्य नागरिकको कुरा गर्नुस् । हरेक क्षेत्रमा इमानदारीता हराउँदै गइरहेको छ । यो कुरालाई आत्मसाथ गर्नुपर्छ’उनले भने,‘हामी सबै सच्चिन र सुध्रिन जरुरी छ । मैले यो आवश्यकता देखेको छु ।’ 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारको आयोजनामा भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे छलफल गरिएको हो । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, शुसासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न, मौलिक हकको सुनिश्चितता एवं मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनको माध्यमबाट समावेशी, मर्यादित र समतामूलक समाजको विकास गरी समृद्ध प्रदेश, खुसी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, भ्रष्टाचारमुक्त जनउत्तरदायी बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति दिलाउने लगायतका उद्देश्य राखेर भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गर्न थालिएको हो । 

राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने राज्यको नीति कार्यान्वयन गर्न, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रको रुपमा सो महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजनाको आवश्यकता परेको जानकारी गराइएको छ । 

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वन गर्न प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन जोड दिइएको छ । भ्रष्टाचारको जोखिमपूर्ण क्षेत्रको पहिचानगरी बिशेष निगरानी गर्ने, सेवाग्राहीको बढी चाप हुने कार्यालय र निकायहरुको सेवालाई अनलाई सेवामा रुपान्तरण गर्ने, त्यस्ता कार्यालय र निकायमा सिसिटिभी जडानको व्यवस्था अनिवार्य गर्ने, सार्वजनिक निकायहरुले आफूलाई विनियोजित बजेट एवं त्यसमा भएको खर्च तथा प्रगतिको विवरण सार्वजनिक गर्ने, मुख्यमन्त्री तथा मन्त्रीहरुको निजी सचिवालयमा रहने सल्लाहकार तथा अन्य कर्मचारीको नियुक्ति तथा सेवा शर्त सम्बन्धि विषयलाई ऐनद्धारा नियमित गर्ने, सार्वजनिक पदाधिकारीहरुमा सदाचार, इमानदारी र जिम्मेवारीको भावना विकास गर्न आचारसंहिता विकास र परिमार्जन गरी कार्यान्वयन गर्ने, हाजिरी छड्के, पोशाक अनुगमन, नागरिक वडापत्र अनुगमन आदिमा कानुनको परिपालना नगर्ने व्यक्ति र निकायहरुको अभिलेख तयार गर्ने लगायतका क्षेत्रमा भूमिका तोकिएको छ । 

कार्यक्रममा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको कार्यपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह-सचिव राजेन्द्र थापाले प्र्रस्तुत गरेका थिए । 

कार्यक्रमको विषयवस्तुमाथि उपसचिव राजुप्रसाद गुरागाईले प्रकाश पारेका थिए । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।