२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा मदरसा शिक्षालाई सुधार गरेका छौं : मुख्यमन्त्री आचार्य

शनिवार , कार्तिक १०, २०८१

भैरहवा, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेकोे बताएका छन् । रुपन्देहीको भैरहवामा शनिबार मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायको विकास तथा सशक्तिकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर प्रदेश सरकार अघि बढेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई सुधारेको मुख्यमन्त्री आचार्यको भनाइ छ । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा समान पहुँच बढाउन छात्रावृत्तिको व्यवस्था गरेको, छोरीहरुलाई शिक्षामा पहुँच बढाउन छात्रावास स्थापना गरेको समेत उनले जानकारी दिए ।‘प्रदेश स्थापना भएपछि मदरसा शिक्षालाई जोड दियौं । मदरसाको भौतिक सुधार ग¥यौं । त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौं । मुस्लिम विद्यार्थीलाई छात्रावृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ’उनले भने,‘शिक्षा क्षेत्रमा अगाडि बढाउन प्रदेश सरकारले सक्दो सहयोग गरेको छ ।’ 

प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षित गर्न सात प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत मुख्यमन्त्री आचार्यले बताए ।‘प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तिकरणको लागि ध्यान दिएको छ । निजामती सेवामा आकर्षित गर्न ७ प्रतिशत आरक्षण सुनिश्चित गरेका छौं’उनले भने,‘नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने गरी सरकारले काम गरिरहेको छ ।’ छोरीहरुको शिक्षामा मुस्लिम समुदायले विशेष ध्यान दिनुपर्ने उनले बताउनु भयो ।‘छोरीहरुलाई शिक्षामा अगाडी बढाउन समुदायबाट नै विशेष ध्यान दिनुपर्छ । सरकारले वातावरण निर्माण गरेको छ । छात्रावास बनाएको छ । छात्रवृत्ति दिएको छ । छोरीहरुलाई विद्यालयमा पढ्न पठाउनुस’उनले भने,‘समुदायका अगुवाहरु नै बढी संवेदनशील हुन जरुरी छ ।’ 

प्रदेशका ६ जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै उनले गर्भवती र सुत्केरी आमाहरुलाई यो कार्यक्रममा जोड्न आह्वान गरे ।‘तराईका ६ जिल्लामा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरु छन् । यी समस्या समाधान गर्न सरकारले थालेका कार्यक्रममा जोड्न समुदायले विशेष पहल लिन जरुरी छ’उनले भने,‘सरकारले लगानी गर्दै जाने तर, सेवा उपभोग गर्न समुदायका मानिसहरु नपुग्ने अवस्था भयो भने त्यसले नतिजा राम्रो दिदैन । यसबारेमा हामी सवै संवेदनशील बन्न जरुरी छ ।’
समुदायका विपन्न नागरिकहरुलाई आर्थिक रुपमा बलियो बनाउन व्यवसायिक तथा सीप अभिवृद्धिको कार्यक्रम अघि बढाउने, निरोगिताको लागि स्वास्थ्य उपचारमा पहुँच बढाउने, सामाजिक चेतना अभिवृद्धिका अभियानहरु व्यापक बनाउनुपर्ने उनले बताए ।

Madarsa (2).jpeg

धार्मिक सद्भाव कायम राखौं, सबै धर्मको सम्मान गरौं भन्ने मुख्य सन्देशसहित ओल्मा काउन्सिल नेपाल रुपन्देही शाखाको आयोजनामा ‘तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी’ सम्मेलन २०८१ सुरु भएको छ । ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुलनबी भाटको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । 

सम्मेलन उद्घाटन अवसरमा पिछडिएको समुदायलाई राज्यको मूल धारमा ल्याउने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न माग राखिएको थियो । मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तिकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम बनाउन समेत प्रदेश सरकारसँग अनुरोध गरिएको छ । 

मुस्लिम समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्न, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, राज्यले उपलब्ध गराउने स्रोत तथा साधनहरुमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्न, ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्बद्र्धन लगायतका विषयहरु उठान गरिएको थियो ।