
शनिवार , कार्तिक १०, २०८१
भैरहवा, १० कार्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा विशेष भोजन दान कार्यक्रम गरेको छ । क्लबका सदस्यहरूको आर्थिक योगदानबाट रु. ५० हजार संकलन गरी असहाय, बेसहारा र विपन्न नागरिकहरूलाई भोजन वितरण गरिएको हो । कार्यक्रम संयोजक शिवशंकर जयसवालको संयोकत्वमा आयोजना गरिएको यो कार्यक्रममा क्लबका सदस्यहरूको महत्वपूर्ण उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मानव सेवा आश्रम नेपालका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले मानव सेवा आश्रम र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाललाई सडकमा आश्रय खोजिरहेका सहयोगापेक्षी नागरिकबाट मुक्त बनाउनका लागि यस्ता सेवामूलक कार्यहरू आवश्यक रहेको उनले बताए ।
क्लबका संस्थापक अध्यक्ष विमल सेन्चुरीले विगत ९ वर्षदेखि रोटरी क्लबले समाजसेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउँदै सेवा र मित्रताको यो यात्रालाई अझ सशक्त बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे । क्लबका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डेले स्थापना (चार्टर) दिवसको महत्वबारे चर्चा गर्दै यस वर्षको भोजन दान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पुर्याउने विश्वास व्यक्त गरे ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका भावी अध्यक्ष विष्णु शर्माले यो कार्यक्रमलाई सफल बनाउन पाउँदा गर्व महसुस भएको बताए । क्लबका सदस्यहरूले सहयोग गरेर रु. ५० हजार जुटाएर यो समाजसेवाको कार्य सम्पन्न गरिएकोमा उनले सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गरे ।
त्यसै गरी यसपटकको चार्टर डे मा मानव सेवामा भोजनदान कार्यको अवधारणा राखेका क्लबका इभेन्ट म्यानेजमेन्ट चेयर बासु बादलले यस प्रकारका सहयोगात्मक कार्यहरू समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनका अनुसार यसप्रकारका सेवा कार्यहरूले समाजमा सहयोगको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
क्लबका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डेको स्वागत, कार्यक्रम संयोजक शिवशंकर जयसवालको संयोजकत्व तथा क्लबका सचिव गंगाधर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आगामी दिनहरूमा पनि यस्तै सेवाका कार्यहरू जारी राख्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij