
शनिवार , कार्तिक १०, २०८१
भैरहवा, १० कार्तिक । १० कार्तिक २०८१ मा रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस नगर समिति, सिद्धार्थनगरले क्रियाशिल सदस्यहरुको लागि क्रियाशील भेला तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमको मञ्चमा एक जनाबाहेक सबै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्णसहित कांग्रेसका केन्द्रिय, प्रदेश, जिल्ला, स्थानीयदेखि विभिन्न संघ–सस्थामा आबद्ध कांग्रेसीजनहरु मात्र थिए ।
कांग्रेसले आयोजना गरेको उक्त कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का लुम्बिनी प्रदेश अध्यक्ष तथा सो पार्टीको प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको प्रवेशले नेता तथा कार्यक्रममा तरंग पैदा गरेको थियो ।
पछिल्लो समय कांग्रेसले आयोजना गर्ने कार्यक्रममा देखा पर्ने लोसपा नेता पाण्डेय आज भने पार्टीको आन्तरिक कार्यक्रममा देखा परेपछि कांग्रेस पार्टीका नेता तथा कार्यकर्तादेखि अन्य व्यक्तिहरुमा पनि तरंग पैदा भएको छ । पछिल्लो समय पूर्व गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही आउँदा कांग्रेस नेता–कार्यकर्तासँगै पाण्डेय पनि स्वागत लागि विमानस्थल पुग्ने गरेका छन्।
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद् प्रमोद कुमार यादवले पछिल्लो समय प्रदेश सांसद पाण्डेय कांग्रेसभित्रकै नेता सरह पार्टीका कार्यक्रममा देखा पर्ने गरेको बताए । उनले शनिबार (आज) को कार्यक्रममा पनि पाण्डेयलाई मञ्चमा कांग्रेसका नेता सरह सहभागी भएको देखेपछि आफूले कांगेसमा प्रवेश गराउन आग्रह गरेको बताए । यादवले खबरपात्रोसँग भने, ‘कार्यक्रममा वडाअध्यक्षका दुईजना उम्मेदवारलाई पार्टी प्रवेश गराउनुभयो, माननीय सन्तोष पाण्डेयलाई पनि पार्टी प्रवेश गराउनुस् भनेर नगर सभापति कोशिस बहादुर खड्कालाई भनेको थिए । त्यसको जवाफमा उहाँले गठबन्धनमा सँगै चुनाव लडेको भएर आउनुभएको होला भन्नुभयो ।’
कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताले पनि लोसपा नेता पाण्डेय कांग्रेसमा प्रवेश गर्नुभयो र भन्दै कानेखुसी गरिरहेका थिए । उक्त कार्यक्रममा पाण्डेयले सम्बोधन समेत गरेका थिए ।
कांग्रेसको आन्तरिक कार्यक्रममा फरक दलका एक जना मात्र नेतालाई मञ्च देखेपछि अन्य दलको नेता तथा कार्यकर्ता पनि दंग परेका छन् । भैरहवामा बसेर राजनीति गर्दै आएका एक जना नेताले लोसपा नेता पाण्डेयको कांग्रेससँगको हिमचिम कांग्रेसभित्रका नेताको भन्दा कम नभएको बताए । उनले भैरहवाको राजनीतिमा यस्तो खालको प्रवृत्ति अन्य दलका नेतामा पनि बेलाबखत देखा पर्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधिले पार्टी कार्यकर्तामा निराशा छाउन सक्ने बताए ।
कांग्रेस सिद्धार्थनगर उपसभापति एवं शनिबार भएको कार्यक्रमको संयोजक देवराज न्यौपानेले कार्यक्रममा पाण्डेयलाई पार्टीले निमन्त्रणा नगरेको स्पष्ट पारे । उनले कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणसँग पाण्डेय कार्यक्रममा आएको बताए ।
लोसपाका केन्द्रिय सदस्य मोहम्मद इस्लाम खाँले एउटा पार्टीको जिम्मेवार व्यक्ति अर्को पार्टीको आन्तरिक कार्यक्रममा सहभागीता जनाउनु उचित नभएको बताए । उनले पार्टीको प्रदेश अध्यक्ष तथा संसदीय दलका नेता जस्तो व्यक्ति अर्को पार्टीको आन्तरिक कार्यक्रममा जाने र नेताहरुसँग आवश्यकता भन्दा बढी हिमचिम बढाउने विषयमा विचार पुर्याउनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij