२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारी र सिद्धारा समाजद्वारा शितगंगामा स्वास्थ्य शिविर

आइतवार , कार्तिक ११, २०८१

बुटवल, ११ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० हर्रेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर सिद्धारा सेवा समाज रुपन्देही र रोटरी क्लब अफ बुटवल चौतारीले संयुक्त रुपमा गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन शितगंगा नगरपालिकाका प्रमुख (मेयर) छविलाल पौडेलले गरेका थिए । 

शिविरमा डा. मोहन भुसाल नेतृत्वको टिम चेकजाँचका लागि खटिएको थियो । त्यस्तै शितगंगा नगर अस्पतालका इन्चार्ज डा. सुवेक्षा शर्मा पनि सहभागी भएकी थिइन् ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले निःशुल्क स्वास्थ्य शिविरले यहाँका सर्वसाधारणको चेकजाँचमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने र यसका लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रम संयोजक रोटरी क्लब अफ बुटवल चौतारीका सचिव खगेन्द्र बेलबासेले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।  

त्यस्तै वडाअध्यक्ष रोटरीयन केशव बेलबासे, अर्का रोटरीयन खिमानन्द बस्याललगायतले स्वास्थ्य शिविरबाट यस क्षेत्रका नागरिकले राहत पाएको बताएका थिए ।
शिविरमा ग्याष्ट्रो सेन्टर बुटवल प्रा.लि.का वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल नेतृत्वको टोलीमा महिला रोग विशेषज्ञ डा. नविन तिरुवाको टोली समेत खटिएको थियो ।

इन्डोस्कोपीसहितको सेवा प्रवाहका साथै विभिन्न औषधी कम्पनीद्वारा औषधी सहयोग भएको थियो । ३ सय जना सहकारी शिविरमा १७० जनाले स्वास्थ्य जाँच गरी औषधी लिएका थिए भने १७ जनाको इन्डोस्कोपी गरिएको थियो ।

क्लबले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।