
सोमवार , कार्तिक १२, २०८१
भैरहवा, १२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको बताएका छन् । उनले यो संकल्पमा कसैले चाहेर पनि अवरोध गर्न नसक्ने बताए ।
सोमबार भैरहवामा एमाले सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै विश्वकर्माले केपी ओली नेतृत्वको एमाले एकताबद्ध रहेको र यो मुलुकको आवश्यकता रहेको जिकिर गरे । उनले भने, ‘यति घेराबन्दी हुँदा पनि त्यो घेराबन्दीलाई एमाले नेतृत्वले चिरेको छ । यो चानचुने कुरा होइन ।’
पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहलकदमी वर्तमान केपी ओली नेतृत्वको सरकारले लिएको बताए । उनले भने, ‘एमाले नेतृत्वको सरकारले साँस्कृतिक सम्पदाको संरक्षण गर्छ । एमाले हुनुमा गौरव गर्नुपर्छ ।’
नेपाली काँग्रेस र नेकपा (एमाले) बीच समीकरण बनेपछि संविधान संशोधनको विषयलाई लिएर रोइलो गरिएको उनको भनाइ छ । उनले भने, ‘बाहिर जतिसुकै हल्ला गरे पनि केही फरक पर्दैन ।’ जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए ।
आफ्नै सामर्थ्यले निर्णायक शक्ति बनाउन र कसैको वैशाख नटेक्ने गरी अघि बढ्न पार्टी संगठनलाई व्यवस्थित गर्नुपर्ने बताए । सचिव विश्वकर्माले विगतका कामको समीक्षा गर्दै कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै एमाले पोलिटब्यूरो सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले वर्तमान सरकार ढल्छ भनेर हल्ला फैलाइएको बताए । उनले राजनीतिक स्थिरताका लागि एकजुट हुनुपर्छ भनेर कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले नेताले केही गरेनन् भनेर हल्ला फैलाउने काम भइरहेको बताए ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले अर्थतन्त्रका समस्या समाधान गर्नेतर्फ सरकार अघि बढेको बताए । उनले नेपाली जनतालाई जीवनमा परिवर्तन चाहिएको बताए ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेल, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा लगायतले बोल्दै एमालेलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
एमाले सिद्धार्थनगरका उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले सिद्धार्थनगर कमिटीका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको नगर कमिटी उपसचिव कुमार गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij