२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी निर्माण व्यवसायीद्वारा व्यवसायीलाई तालिमसँगै शुभकामना आदानप्रदान

मंगलवार , कार्तिक १३, २०८१

भैरहवा, १३ कार्तिक । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले निर्माण व्यवसायीहरुलाई दुईदिने व्यवस्थापकीय तालिम प्रदान गरेको छ । 

आइतबार र सोमबार गरी दुईदिन भैरहवामा नेपाल निर्माण व्यवसायी महासंघको प्राविधिक सहयोग, निर्माण व्यवसाय विकास कार्यान्वयन समितिको समन्वय र लुम्बिनी निर्माण व्यवसायी संघको व्यवस्थापनमा तालिम सञ्चालन भएको थियो । तालिम समापनसँगै व्यवसायीहरुले विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान पनि गरेका थिए । 

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि तथा तालिम संयोजक इञ्जिनियर एडि लामाले निर्माण व्यवसायीलाई दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन प्रणालीले मात्रै दीर्घकालीन विकासमा अघि बढाउन सक्ने बताए । उनले भने,‘तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान,आधुनिक प्रविधिको उपयोग र जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षमा सशक्त बनाउने उद्देश्य राखेको छ । हामीले सही योजना, गुणस्तर नियन्त्रण र समय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, जसले निर्माण कार्यलाई कुशल र सुरक्षित बनाउँछ । संयोजक लामाले भने, ‘तालिमले सहभागीहरूलाई व्यवसायिक र व्यक्तिगत दुवै हिसाबले उन्नति गर्न सहयोग पुर्याउँनेछ ।’

त्यस्तै सोही तालिमका अध्यक्ष तथा लुम्बिनी निर्माण व्यवसायी रुपन्देहीका अध्यक्ष मन्जु भुसालले निर्माण क्षेत्रको दिगो विकासका लागि निर्माण व्यवस्थापनमा ज्ञान र सीप अभिवृद्धि अत्यन्तै महत्वपूर्ण रहेको बताइन् । 

यो तालिमले सहभागीहरूलाई गुणस्तरीय निर्माण, समय व्यवस्थापन, स्रोतको सही उपयोग र सुरक्षित निर्माण प्रक्रियामा अभ्यस्त गराउनुका साथै आर्थिक तथा प्राविधिक ज्ञानमा वृद्धि गर्न सहयोग पुर्याउँछ । उनले भनिन्, ‘हाम्रो व्यवसायमा व्यवस्थापकीय पक्ष फितलो हुँदा धेरै निर्माण कम्पनीहरु धरासायी हुन पुगेका छन् । यस्ता तालिमले धेरै विषयमा ज्ञान बढाउँछ । यस्ता तालिमहरुले निर्माण व्यवसायलाई दिगो र सुरक्षित बनाउँछ, जसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ ।’

अध्यक्ष भुसालले निर्माण व्यवसायीमा नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्न आवश्यक रहेको समेत बताइन् । व्यवस्थापकीय तालिमले समग्रमा निर्माण व्यवसायीलाई व्यवसायिक रूपमा मजबुत बनाउन मद्दत पुर्याउने र यसले निर्माण क्षेत्रमा दीर्घकालीन सफलता हासिल गर्न सहयोग गर्ने सल्लाहाकार जविन कक्षपतिले बताए ।

तालिममा ६० जना बढी व्यवसायीहरुको सहभागीता रहेको थियो । तालिमका प्रमुख प्रशिक्षक इञ्जिनियर केशवराज आचार्य, नेपाल निर्माण व्यवसायी महासंघका निर्देशक निर्मल अर्यालले सार्वजनिक निर्माण खरिदमा कानूनी व्यवस्था, करारका अवधारण तथा बीमा मूल्य संयोजन, बैंक जमानत, बीमा लगायत व्यवसायीलाई अन्य धेरै विषयमा प्रशिक्षण दिएका थिए । 

c921a015-42fd-415f-a505-11a22cf662c2.jpeg

व्यवसायीहरुले समापन तालिम तथा तिहार, छठ नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान समेत गरेका थिए । तालिममा लुम्बिनी प्रदेशका सल्लाहकार भिम बहादुर श्रेष्ठ, रुपन्देहीका सल्लाहकार जविन कक्षपति, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मन्जु कुमार जैसी ढकाल लगायत पूर्वधार विकासका प्रमुख लालु गरी, विभिन्न कार्यालयका प्रमुखहरु र महासंघका पदाधिकारीहरु लगायतका स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।