
मंगलवार , कार्तिक १३, २०८१
काठमाडौं, १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो ।
पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए ।
अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे । उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij