२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन देवदह आउने, आमसभाको तयारी पूरा

मंगलवार , कार्तिक १३, २०८१

भैरहवा, १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको देवदहमा वृहत् आमसभा गर्ने भएको छ । ‘किसानसँग राप्रपा’ अभियान अन्तर्गत देवदह नगरपालिका–११ को शंकरपुरमा राप्रपाले वृहत् आमसभा गर्न लागेको हो । मंगलबार देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी राप्रपाले जनाएको छ ।

पार्टीले किसानका समस्या र समाधानका लागि देशभरका किसानसँग अन्तरक्रिया कार्यक्रम गर्ने अभियान अन्तर्गत कार्यक्रमको आयोजना गर्न लागिएको राप्रपाका केन्द्रिय सहायक महामन्त्री ताहिर अलीले जानकारी दिए । 

देशमा किसानका समस्या विद्यमान रहेको र किसानका लागि आवश्यक पर्ने मलखाद कारखाना समेत नहुँदा भारतसँग परनिर्भर हुनुपरेको कारण किसानले दुःख पाएको भन्दै राप्रपाले किसानका मुद्दा बोकेर देशव्यापी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

पार्टीका केन्द्रिय सदस्य तोयानाथ लम्सालले भष्टाचारबाट देश आक्रान्त भएकाले यसको न्यूनीकरण जस्ता प्रमुख एजेण्डा लिएर अघि बढेको र सोही कार्यक्रम अन्तर्गत कार्तिक १४ गते बुधबार देवदहमा किसानसँग राप्रपा कार्यक्रमको आयोजना गरिएको बताए ।

देशमा गणतन्त्र आए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको र ठुला दलहरु भ्रष्टाचारमा लिप्त भएको कारण यथास्थितिमा मूलुकमा समृद्धि नआउने भएकोले जनताको अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनको विकल्प नरहेको केन्द्रिय सदस्य लम्सालको भनाइ छ ।

राप्रपा देवदहका अध्यक्ष माधव रिमालको अध्यक्षता तथा पार्टीको नगर सदस्य राजु चौधरीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।