२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘दीपावली फेस्टीबल’ गर्दै युनिक साउण्ड

बुधवार , कार्तिक १४, २०८१

भैरहवा, १४ कार्तिक । विगतका वर्षहरुझै यस वर्ष पनि युनिक साउण्डले भैरहवामा ‘दीपावली फेस्टीबल’ गर्ने भएको छ । विगत १७ वर्षदेखि भैरहवामा केन्द्रीत भइ साउण्ड र म्यूजिकको व्यवसाय गर्दै आएको युनिक साउण्डले युनिक दीपावली फेस्टीबल–२०८१ गर्ने भएको हो ।

यस वर्षको कार्यक्रम २०८१ कार्तिक १५ गते बिहीबार मिलनचोकमा साँझ ६ बजेदेखि सुरु गर्ने गरी तयारी भएको युनिक साउण्ड भैरहवाले मंगलबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएको छ । हिन्दूहरुको महान पर्व तिहार (दीपावली) को अवसरमा आपसी सद्भाव, नगरबासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको संरक्षण र स्थानीय कलाकारलाई प्रोत्साहन गर्न यो कार्यक्रम गर्न लागिएको युनिक साउण्डका सञ्चालक रहिश खानले बताए । ‘एकल लगानीमा ८ वटा फेस्टिबल सफलतापूर्वक सम्पन्न गरी नवौंपटक यो कार्यक्रम भैरहवामा आयोजना गर्दैछौं, ’उनले भने ।

सञ्चालक खानका अनुसार कार्यक्रममा नृत्य, गायन लगायतका साँस्कृतिक कार्यक्रमहरु गरिनेछ । सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सदभावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । ‘विगतमा जस्तै यस वर्ष पनि कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ, तर कलाकारको नाम सार्वजनिक गरिएको छैन, सिधै स्टेजमा सार्वजनिक गर्छौं, ’खानले भने ।

कार्यक्रमका लागि चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देहीले) सहजीकरण र समन्वय गरेको उनले बताए । प्राय तिहार जस्तो महान पर्वमा पनि भैरहवा सुनसान हुने देखिएपछि यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ छ । करिब ९ लाखको लगानीमा हुने कार्यक्रममार्फत स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रस्फुटनका लागि अवसर पाउने उनको भनाइ छ । कार्यक्रम स्थलका सडक झिलिमिली गरिसकिएको उनले बताए । साँझ ६ बजेदेखि राती ११ वर्षसम्म कार्यक्रम गर्ने तयारी भएको र यो कार्यक्रममा करिब ५० हजार दर्शक आउने अपेक्षा रहेको सञ्चालक खानले बताए । उनका अनुसार कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभइ छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरु आउने गरेका छन् ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले संगठनको समन्वयमा युनिक साउण्डले गर्न लागेको कार्यक्रमले दर्शकले मनोरञ्जन पाउनुका साथै केही भए पनि आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले यो कार्यक्रम सफल बनाउन सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।