
बुधवार , कार्तिक १४, २०८१
लुम्बिनी, १४ कार्तिक । म्यानमार सरकारका धार्मिक मामिला तथा संस्कृति मन्त्री यूटिन ओलुयिनले बुधबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत र सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् । उक्त अवसरमा मन्त्री यूटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिए ।
बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका यूटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए । बुद्धिष्ट देश समेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ ।
लुम्बिनीस्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो । संस्कृति तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थयात्री वृद्धि हुने लुम्बिनी विकास कोषले अपेक्षा गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij