२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

प्रतापपुरमा विभिन्न दल परित्याग गरी ७६ जना एमालेमा प्रवेश

आइतवार , कार्तिक १८, २०८१

  • 802
    Shares
  • 802
    Shares
  • परासी, १८ कार्तिक । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका युवा समाजसेवी एवं नेकपा (माओवादी केन्द्र) का नेता धिरज त्रिपाठी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
    एमाले प्रतापपुर गाउँपालिका कमिटीले शनिबार बेलाटारीमा आयोजना गरेको दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र परित्याग गर्दै युवा नेता त्रिपाठी एमालेमा प्रवेश गरेका हुन् । 

    उक्त कार्यक्रममा त्रिपाठीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी ७६ जना एमालेमा प्रवेश गरेको एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर भण्डारीले जानकारी दिए । उनीहरुलाई एमाले नवलपरासीका अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए । त्रिपाठी २०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट प्रतापपुर गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहेका थिए । 

    कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष अधिकारीले नेपाली जनताको आशा र भरोसा नै एमाले मात्रै रहेको दावी गरे । उनले मुलुकको विकास र नेपाली जनताको भविष्य सुनिश्चित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एकल बहुमत आउने गरी मिसन ८४ को अभियानमा लाग्न निर्देशन दिए । 

    अध्यक्ष अधिकारीले एमालेका मनमोहन अधिकारी नेतृत्वको एकल बहुमतको सरकारको पालादेखि मात्र मुलुकमा विकासको अभियान सुरु भएको स्मरण गर्दै आगामी निर्वाचनमा एमालेले एकल सरकार बनाउन सकेमात्र जनताका अपेक्षा पूरा हुने जिकिर गरे । उनले  धिरज त्रिपाठीसहित पार्टी प्रवेश गर्ने सबैलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

    WhatsApp Image 2024-11-02 at 6.26.46 PM (1).jpeg

    एमाले प्रतापपुर गाउँपालिका कमिटी अध्यक्ष प्रदीप सिंह क्षेत्रीको अध्यक्षता तथा जिल्ला अध्यक्ष अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु थानप्रसाद गैरे, धनबहादुर गुरुङ्ग, एकदेव पाण्डे, जिल्ला सचिवालय सदस्य रामप्रसाद पाण्डे, तारासिंह क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।