२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

एअर एसियाको बैंकक–भैरहवा उडान सुरु

आइतवार , कार्तिक १८, २०८१

रुपन्देही, १८ कार्तिक । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार (आज) देखि सुरु भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो ।  

प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा विमानका चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । उनले यो तालिका अनुसारकै फ्लाईट भएको बताए । अर्को उडान अब कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने विमानस्थलले जनाएको छ । 

२३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहिबारदेखि हप्ताको दुई दिन सोमबार र बिहिबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए । 
थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो । 

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।