
सोमवार , कार्तिक १९, २०८१
बुटवल १९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न मन्त्रीपरिषद्का बैठक राख्ने योजना रहेको बताएका छन् ।
सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताए ।
‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको बसन्तपुर, पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी लगायतका महत्त्वपूणर् स्थलहरुमा घुम्तीरुपमा मन्त्रीपरिषद्को बैठकहरु राख्ने योजनामा छौंं’-मुख्यमन्त्री आचार्यले भने-यस प्रकारको बैठकले पर्यटन क्षेत्रमा सबैको ध्यान केन्द्रित हुने छ ।
प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन,कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताए ।
निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
भारतीय पर्यटक भित्राउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसंग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूणर् भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रसंग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको बताए ।
केवलकार अवलोकनसंगै मुख्यमन्त्री आचार्यले बसन्तपुरमा रहेको प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij