
मंगलवार , कार्तिक २०, २०८१
दाङ, २० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो ।
सिचुआन प्रान्तमा समन्वय र विकासको बिषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हँुदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ ।
मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा जान लागेका छन् । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तबीच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij