
मंगलवार , कार्तिक २०, २०८१
बुटवल, २० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । रुपन्देहीको बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ स्थित खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी घाइते बिरामीहरुसँग भेट गर्दै उपचारमा कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।
बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरुलाई भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो क्रममा मुख्यमन्त्री आचार्यले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् । ‘घाइतेहरुको उपचारमा कुनै कमी नहोस् । सबैप्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’चिकित्सकहरुसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भने,‘घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’
दुर्घटनामा परेर दुईजनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुबाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij