
मंगलवार , कार्तिक २०, २०८१
बुटवल, २० कार्तिक । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गरेका छन् । बुटवलबाटै दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलोपटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निर्माण भएको प्रतिक्रिया दिएका छन् । उनले यस क्षेत्रका बिरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने बाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न बाँकी रहेको बताए । उनले पूर्वाधार र उकरणका हिसाबले बुटवल प्रा.लि.जस्तै निजी र सरकारी अस्पतालहरु प्रतिष्पर्धामा उत्रिनुपर्ने बताए ।
भर्खरै एकसय शैयाको अनुमति पाएको बुटवल हस्पिटल प्रा.लि.ले बुटवल उपमहानगरपालिका–६ स्थित चाँदीवारी चोकमा सुविधासम्पन्न भवनवाट आफ्नो सेवा सुरु गरेको छ । ३० जना भन्दा बढी कन्सल्टेण्ट चिकित्सकहरुसहित २ सय जना स्वास्थ्यकर्मी कर्मचारीहरु रहेको बुटवल हस्पिटल प्रा.लि.ले अधिकांश सेवाहरु २४ घण्टा सञ्चालन गरेको छ ।
सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा बुटवललाई थप विश्वासिलो बनाउनका लागि बुटवल हस्पिटल प्रा.लि.को टीमले केही नयाँ प्रयास गरेको भन्दै यसको स्थायीत्वका लागि सकारात्मक सहयोगको अपेक्षा गरे । उनले आफूहरु सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरेरै अघि बढ्न चाहेको भन्दै बुटवल हस्पिटल प्रा.लि. तत्काल देख्दा केही व्यक्तिहरुको लगानी भए पनि यो बुटवलका सबै नागरिकहरुकै संस्था भएको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, अस्पतालका मेडिकल निर्देशक डा. कृष्ण खनाल, प्रबन्धक देवेश कर्ण, बिक्रम खड्का लगायतले स्वास्थ्य क्षेत्रका बारेमा धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij