
शुक्रवार , कार्तिक २३, २०८१
भैरहवा । नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएका छन् । बस र हाइस ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको गरेको बा.प्र. ०६-००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतक सबै हाइस बसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसका सहचालक काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सामान्य घाइते भएका छन् ।
घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij