
शुक्रवार , कार्तिक २३, २०८१
भैरहवा, २३ कार्तिक । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार (आज) बिहान रुपन्देहीसहित विभिन्न जिल्लाका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको किम्वदन्ती रहेको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij