
शनिवार , कार्तिक २४, २०८१
भैरहवा, २४ कार्तिक । कुवेतको जजिरा एयरवेजले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तराष्ट्रिय उडान सुरु गरेको छ । कुवेतको जजिरा एयरवेजको जहाज शनिबार बिहान ७ बजेर ४० मिनेटमा जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । दुई वर्षअघि यो विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो ।
१० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर उडान स्थगित गरेको जजिराले आजदेखि साताको तीन दिन उडान भर्ने गरी सुचारु गरेको बिमानस्थलका महाप्रबन्धक प्रतापबावु तिवारीले जानकारी दिए ।
जजिराले साताको मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गरेकाे जजिराको विमानले ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भरेकाे हाे ।
शनिबार जजिराले १७४ यात्रु लिएरको आएको थियो भने जाँदा पनि १७४ जना यात्रु नै लगेर उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए । महाप्रबन्धक तिवारीका अनुसार आज मध्यान्हबाटै फ्लाई दुबईले पनि उडान थाल्दैछ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातैदिन उडान गर्ने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij