२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीको रक्तदानमा ६६ यूनिट रगत संकलन

शनिवार , कार्तिक २४, २०८१

बुटवल, २४ कार्तिक । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ६६ यूनिट रगत संकलन भएको छ । शनिबार भएको रक्तदान कार्यक्रममा रोटरी बुटवल चौतारीका स्पोन्सर क्लबहरु रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारी, इन्ट्रयाक्ट क्लब अफ भैरहवा चौतारी र इन्ट्रयाक्ट क्लब अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए । 

१ सय जना भन्दा बढी उपस्थित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले आगामी वर्षको वैशाखभित्र फेरि रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिदै मानवीय कार्यको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै क्लबका एजी कुलमणि ज्ञवालीले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ क्लबले आफूलाई अगाडि बढाउँदै लगेको भन्दै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।

त्यसअवसरमा कार्यक्रम संयोजक रामप्रसाद पाण्डे, रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डे, भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेललगायतले पनि रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । 

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, क्लबका पदाधिकारी तथा सदस्यहरुका साथै ठूलो संख्यामा रोटरीयनहरुको उपस्थिति थियो ।