
शनिवार , कार्तिक २४, २०८१
काठमाडौं २४ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरेकम छन् । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिवार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान सम्पन्न हुन लागेको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी सम्हालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारेका हुन् ।
मन्त्री पाण्डेले भनेका छन्, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणामस्वरुप अहिलेको उडान सम्भव भएको हो ।’
उनले विज्ञप्तिमा भनेका छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भइरहेका छन्।’
विज्ञप्तिमा मन्त्री पाण्डेले ठूलो पूँजी लगानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चालन हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तरसम्बन्धित (इन्टर लिंक) पूर्वाधारहरुको विकास हुनु आवश्यक रहेको बताए । उनले भने, ‘ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरु अभ्यस्त हुन केही समय लाग्न सक्छ । यी तमाम कामलाई चरणबद्ध रुपमा सम्पन्न गर्न पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र सरकार प्रतिबद्ध छ ।’
मन्त्री पाण्डेले भने, ‘राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडानबाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यवसायी लगायत आम सर्वसाधारणमा निराशाको वातावरण बनेको थियो ।’
उनले सामान्य वा ठूलो लागनीका व्यवसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्टबाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् र केही समय त्यसका लागि कुर्नुपर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा सम्भव नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्र राष्ट्र भारतबाट स्वीकृति लिनुपर्ने जस्ता प्राविधिक समस्याहरु विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij