
आइतवार , कार्तिक २५, २०८१
दाङ, २५ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफु नफर्किदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आइतबार (आज) देखि लागू हुने गरी लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन् । नेपालको संविधान र अन्य प्रचलित कानूनको अधिनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij