
आइतवार , कार्तिक २५, २०८१
रुपन्देही, २५ कार्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेपाल एअरलाइन्सले पनि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । विमानस्थल सञ्चालनपछि मलेसिया उडान थालेर उडान स्थगित गरेको नेपाल एअरलाइन्सले पुनः शनिवार रातिदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान सुरु गरेको हो ।
शनिबार राति ११ बजे काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा अवतरण गरेको नेपाल एअरलाइन्स पौने १२ बजे यहाँबाट सिधा दुबई प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।
भैरहवा विमानस्थलमा अवतरण गरेपछि जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।
प्रवक्ता बज्राचार्यका अनुसार नेपाल एअरलाइन्सले उक्त रुटमा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भरेर एअरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट दुबई प्रस्थान गर्ने तालिका छ ।
योसँगै भैरहवा विमानस्थलबाट नेपाल एअरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एसिया गरी चारवटा वायु सेवाले व्यवसायिक उडान सुरु गरेका छन् । जसमध्ये थाइ एयर एशियाले शुक्रबारदेखि र अन्य तीनवटा शनिबारदेखि नियमित व्यवसायिक उडान सुरु गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij