२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल नेत्रज्योति संघ रुपन्देहीको सभापतिमा पुनः जोशी

आइतवार , कार्तिक २५, २०८१

भैरहवा, २५ कार्तिक । नेपाल नेत्रज्योति संघ, रुपन्देही शाखाको १७ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले पुनः वरिष्ठ अधिवक्ता कमलराज जोशीको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

संघको सदस्यहरुमा सागर प्रताप राणा, नारायण प्रसाद अग्रवाल, राजेन्द्र प्रसाद पन्थी, गणेश बहादुर क्षेत्री, राजेश कुमार ढकाल, विष्णु प्रसाद उपाध्याय, नवराज न्यौपाने, रामेश्वर श्रेष्ठ, अर्जुमान सैंजु, दिलिप कुमार मल्लिक चयन भएको निर्वाचन अधिकृत तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय प्रवक्ता द्रोण प्रसाद गुरागाँईले बताए । 

त्यस्तै महिला सदस्यहरुमा दुर्गा कुमारी श्रेष्ठ र लता कटेल चयन भएको मतदान अधिकृत तुलसी प्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरत बहादुर चन्दले संघले स्थानीय सरकारसँगको सहकार्यमा आँखा उपचार सम्बन्धि सेवाहरु पुर्याउँदै आएको बताए । उनले नेपाल मात्र नभइ विदेशमा पुगेर पनि संघ अन्तर्गत सञ्चालित अस्पतालल् आँखाको बिरामीको उपचार गरेको बताए । उनले भने, ‘यस वर्ष नेपाल नेत्रज्योति संघको रुपन्देही शाखा देशभरकै उत्कृष्ट शाखा बन्न सफल भएको छ । रुपन्देही शाखा सम्मानित हुनेछ ।’ उनले सबै मिलेर ‘मेडिकल टुरिजम’ को विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले श्री रण अम्बिका शाह आँखा अस्पतालले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए । श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) समेत रहेका राणाले साधारण सभा र अधिवेशनबाहेक अन्य समयमा पनि अस्पतालमा भएका गतिविधिबारे बुझ्न आग्रह गरे । 

सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले आफ्नो कार्यकालमा आँखा अस्पतालमा विकासमा आफ्नोतर्फबाट सक्दो काम गरेको बताए । उनले यस क्षेत्रको विकासका लागि एकता आवश्यक रहेकोमा जोड दिए । 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको गहना भएको र यसले भैरहवाको विकासमा टेवा पुर्‍याएको बताए। 
नेपाल नेत्रज्योति संघ रुपन्देही शाखाका सभापति कमलराज जोशीले अस्पतालमा आर्जन हुने रकम अस्पतालकै विकासका लागि खर्च होस् भन्ने आफूहरुको चाहना भएको बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय प्रवक्ता द्रोण प्रसाद गुरागाँई, नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराई, सिद्धार्थनगर नगरपालिका ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेत्रज्योति संघ रुपन्देही शाखाका आजीवन सदस्य रामचन्द्र ढकाल, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख शान्ति सुवेदी, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।

नेत्रज्योति संघ रुपन्देहीका उपसभापति नारायण प्रसाद अग्रवालको स्वागत तथा सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_3927.JPG