२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : साई ग्लोबलमाथि देवदहको सात विकेटको जीत

आइतवार , कार्तिक २५, २०८१

भैरहवा, २५ कार्तिक । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीत निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीमाथि ७ विकेटको जीत निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा जीतका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा ७० रन बनाउँदै सहजै जीत हात पर्यो । उसको जीतमा दीपक डुम्रेले २४ र संकेत भट्टराईले २३ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका आकाश केवट र मोहम्मद मोइनले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा २८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ६७ रनको सामान्य स्कोर बनाएको थियो । उसका लागि संदीप सिंहले १९, प्रभाश गैरेले १२ र सुजन रानाभाटले ११ रन बनाए । साई ग्लोबलका ५ खेलाडी शून्य रनमै आउट हुँदा टीम सामान्य योगफलमा रोकियो र हार व्यहोर्यो ।

बलिङमा उसलाई सस्तैमा रोक्न देवदहका रोशन गौतमले १० ओभरमा ४ मेर्डन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, सुरज खड्काले ३ र अर्जुन रायमाझीले २ विकेट हात पारे । खेलमा देवदहका रोशन गौतम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए ।

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।