२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

ब्याडमिन्टन प्रतियोगितामा नेपाल र ढुंगानाको जोडी प्रथम

आइतवार , कार्तिक २५, २०८१

बुटवल, २५ कार्तिक । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आइतबार बुटवलमा संघमा गठित वस्तुगत उपसमितिबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गल्ला वस्तुगत उपसमितिका विश्वास नेपाल र मनोज ढुंगानाको जोडी प्रथम भएको छ । 

प्रतियोगितामा युवा उद्यमी उपसमितिको जोडी टीकाराम न्यौपाने र विरेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै नेपाल र ढुंगानाको जोडी पहिलो भएको हो । त्यसै गरी जुत्ता चप्पल र ब्याग उपसमितिको जोडी सनम थापा र कृष्ण बहादुर राना तथा किरण राना र सुरज खनाल तेस्रो भएका छन् । 

संघले आफ्नो रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरगत आयोजित प्रतियोगितामा विभिन्न उपसमितिका २० जोडी सहभागी रहेका थिए । हार्डवेयर र जुत्ताचप्पल वस्तुगत उपसमितिको सहकार्यमा भएको प्रतियोगिता बुटवल ब्याडमिन्टन क्लबको कबर्ड हलमा आयोजना गरिएको थियो भने मुख्य रेफ्रीको भूमिका अर्जुन कार्कीले निर्वाह गरेका थिए ।

c7db176d-9f3a-4f50-a3e8-9621488e5f23.jpeg

प्रतियोगिताको उद्घाटन संघका पूर्वअध्यक्ष यमलाल लोहनीले गरेका थिए । उद्घाटन सत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम हार्डवयर वस्तुगत समितिका संयोजक पारसमणी पोखरेलले गरेका थिए ।

संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेदेखि साताव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साताव्यापी कार्यक्रम अनुसार कार्तिक २६ गते रक्तदान कार्यक्रमको आयोजना गरिदैछ । संघको भवनमा आयोजना हुने रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्रको सहयोगमा गरिने कार्यक्रम संयोजक प्रकाश ढकालले बताए । कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण तथा प्रभातफेरी कार्यक्रम गरिने जनाइएको छ । सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ ।

रजत महोत्सव अन्तरगतको मूल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए ।