
आइतवार , कार्तिक २५, २०८१
भैरहवा, २५ कार्तिक । लुम्बिनी बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम भैरहवास्थित पुगता भूमि जेतवन विहारमा पनि सञ्चालन हुने भएका छन् । गत असोज २९ मा भएको सम्झौता अनुसार विश्वविद्यालयले दीर्घकालीन तथा अल्पकालीन प्रकृतिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य र जेतवन विहारका अध्यक्ष तथा विहार प्रमुख भिक्षु समितबीच २०८१ असोज २९ मा शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मंसिरदेखि जेतवन विहारमा शैक्षिक कार्यक्रम सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले आफ्नो देवदह शिक्षा विकास परियोजना अन्तर्गत रहने गरी उक्त स्थानमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा.कुमार खड्काले जानकारी दिए । ‘त्यहाँ स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न भाषा अध्ययनका कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने ।
हाल उक्त गुम्बामा कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन नभएका कारण भैरहवाका विभिन्न संघ–संस्थाहरुलाई शैक्षिक पूर्वाधारमा सहयोग गर्नका लागि पत्राचार गरिएको खड्काले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij