२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रूपन्देही सुपर लिग : स्टार क्रिकेटको लगातार दोस्रो जीत

सोमवार , कार्तिक २६, २०८१

भैरहवा, २६ कार्तिक । निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा दोस्रो जीत निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा बुटवल युथलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेटले दोस्रो जीत हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जीतका लागि पाएको ९८ रनको लक्ष्य स्टार क्रिकेटले १७ ओभर ४ बलमा ३ विकेट गुमाउँदै १ सय रन बनाएर सहजै जीत निकाल्यो । उसको जीमा अस्मान थारुले नटआउट २३, समिप पौडेलले १९, नरबहादुर सार्कीले अविजित १८, राहुल नाउले १६ र राहुल क्षेत्रीले ११ रनको योगदान गरे । बलिङमा बुटवल युथका सन्तोष परियार र अजय चौधरीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २५ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर ९७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न स्टारका निरज मौर्यले ८ ओभरमा २ मेर्डन राख्दै २४ रन खर्चेर ६ विकेट लिए । यस्तै, शुभम खनालले ३ विकेट लिन सफल भए ।

बुटवल युथका निरज भण्डारीले ३१, सोनु मल्लाहले २२, विकाश न्यौपानेले १४ र स्वाइकोट विश्वासले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । खेलमा स्टारका निरज मौर्य प्यलेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० वटा टीम सहभागी छन् । यसपटक नेपाल सुपर लिगका कारण दुई चरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।