२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

सोमवार , कार्तिक २६, २०८१

दाङ, २६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सको ५ः५५ बजेको फ्लाइटमार्फत उनी त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत भ्रमणमा सहभागी छन् ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ । 

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रीपरिषद् बैठकले अनुमति दिएको थियो । यसअघि कार्तिक २० गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।