
मंगलवार , कार्तिक २७, २०८१
दाङ, २७ कार्तिक । लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीच पारस्परिक सम्बन्ध तथा सहयोग आदानप्रदान गर्नेबारे प्रक्रिया अघि बढेको छ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रह्का मुख्यमन्त्री चेतनारायण आचार्यसँग मंगलबार विश्व बौद्ध संस्कृति आदानप्रदान यूनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्वविद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले शिस्टाचार भेट गरेका छन् ।
सो क्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीच पारस्परिक सम्बन्ध तथा सहयोग आदानप्रदानबारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । ‘प्रदेशको विकास संग दक्ष प्राविधिक जनशक्ति उत्पादनदेखि समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो’भुसालले भने,‘आगामी दिनहरुमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरु भएका छन् ।’
भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसियाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो । भेटपछि मुख्यमन्त्री आचार्यले प्रदेशको तर्फबाट मायाको चिनो स्वरुप ढाका टोपी र पानस प्रदान गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij