
मंगलवार , कार्तिक २७, २०८१
दाङ, २७ कार्तिक । छिमकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्नेबारे योजना अघि सारेका छन् । व्यापार र लगानीको बारेमा भएको विज्ञसहितको कार्यशालामा मुख्यमन्त्री आचार्यले रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सारेका हुन् ।
‘बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ । यसबाट आउने नतिजाको आधारमा कार्यान्वयन गर्न सकिने अवस्थामा अघि बढाइने छ’उनले भने,‘यसका साथै प्रदेश राजधानी शहरलाई नमूना बनाउने र राजधानी शहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत योजना अघि सारिएको छ । लगानीकर्ता र विज्ञहरुको ध्यान केन्द्रित गर्न सफल भएका छौं ।’ प्रदेशको समग्र कृषि, उद्योग, व्यापार क्षेत्रको विकासमा पनि विदेशी दातृ निकाय तथा लगानीकर्ताहरुको ध्यानाकर्षण गराउने काम भएको मुख्यमन्त्री आचार्यले बताए ।
छलफलमा मुख्य गरी प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवस्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनियाँ विधायन पद्दति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडिबुटी उत्पादकहरुको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि बिशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको छ ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्री आचार्यकी श्रीमती दिपा आचार्य सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij