
बुधवार , कार्तिक २८, २०८१
भैरहवा, २८ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बिउ वितरण सुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ वितरण सुरु गरेको हो ।
जात नखुलेका बिउबिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयवृद्धि गर्ने उद्देश्यले बिउ वितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।
बजारमा पाइने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ वितरण गरिएको उनले बताए । कृषकको कृषियोग्य जमिनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवका अनुसार वितरणको लागि कृषि सामग्री कम्पनीबाट ८ सय बोरा मल ल्याइएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैयाँ पर्छ, भने यसमा नगरपालिकाले कृषकलाई १ हजार ७ सय रुपैयाँमा दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij