
राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवामा पार्टी सभापति रवि लामिछानेको समर्थनमा गरेको प्रदर्शनमा पार्टीको पहिचान लुकाएर राष्ट्रिय झण्डा प्रयोग गरिरहेको छ, यसले सहकारी पीडितलाई भ्रममा राखेर आफुविरुद्ध हुने आन्दोलनको बचाउ गरिरहेको छ।
बुधवार , कार्तिक २८, २०८१
भैरहवा, २८ कार्तिक । सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा ल्याएपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ।
भैरहवामा रास्वपाले मंगलबार र बुधबार गरेका प्रदर्शनको आयोजना र संयोजन राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले गरेको हो। ‘हाम्रो पार्टी सभापति रवि लामिछानेलाई सरकारले दुरासयपूर्ण तरिकाले फसाउन खोजेका कारण हामीले विरोध प्रदर्शन गरेका हौं’-रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठक भन्छन्।
रास्वपाले आन्दोलनको आयोजना गरेपनि आन्दोलनमा न त रास्वपाको झण्डा छ न पार्टीको नाम। आन्दोलनमा पार्टीका केन्द्रीय उपसभापति डोल प्रसाद अर्याल (डीपी) सहितका नेताहरु सहभागी भएपनि आन्दोलनमा पार्टीको झण्डा र नाम कतैपनि देखिदैन।
मंगलबार भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि बुद्धचोकसम्मका प्रदर्शन र बुधबार बुद्धचोकदेखि भैरहवा नगर परिक्रमा गर्दा भएका प्रदर्शनमा कतैपनि पार्टीको नाम र झण्डा प्रयोगमा ल्याएको देखिदैन।
यसरी आन्दोलन सहकारी पीडितको हो कि रास्वपाको हो भन्ने झुक्याउन खोजेको देखिन्छ। आन्दोलनमा सहभागीहरुले लगाउने नारा र प्लेकार्डसमेत सहकारी पीडितकै लेखिएका छन्।
आन्दोलनमा सहभागीहरुले ‘सहकारीपीडितलाई न्याय दे, खोइ सरकार खोइ ८७ अर्ब खोइ, रवि दाई हाइहाई, दुईतिहाइको पाराले दु:ख पाए साराले, …. जस्ता नारा लगाइरहेका थिए।
रास्वपाले यसरी गरिरहेको आन्दोलनले आमजनमानसलाई भ्रममा राखिरहेको बुद्धिजीविहरु बताउँछन्। ‘सहकारी ठगीमा अनुसन्धानमा प्रहरी हिरासतमा रहेका व्यक्तिको समर्थनमा जनतालाई भ्रममा राख्ने गरी राष्ट्रिय झण्डा प्रयोग गर्न पाइदैन’- नागरिक अगुवा तथा साहित्यकार विजयसागर श्रेष्ठ भन्छन्।
उनी कुनैपनि अभियोग लागेको कुनै व्यक्तिको पक्षमा हुने आन्दोलनमा राष्ट्रिय झण्डाको प्रयोग गरेर भ्रम फैलाउन र आमजनताकै समर्थन छ जस्तो देखाउन नहुने बताउँछन्। ‘राष्ट्रिय झण्डा हाम्रो आस्थाको केन्द्र हो, यो त राष्ट्रियताको विम्ब हो, सबै नेपालीको पहिचान हो, यसलाई मनलाग्दी प्रयोग गर्न पाइदैन’-उनी भन्छन्-‘यसलाई राज्यले नियन्त्रण गर्नुपर्छ, यस्तो खालको अराजकता कसैबाट पनि स्वीकार्य हुनुहुँदैन।’
सहकारी पीडितहरु भने रास्वपाले आन्दोलनमा पार्टीको पहिचान लुकाएर सहकारी पीडितहरुको भावनामाथि खेलवाड गरिरहेको बताउँछन्।
‘सहकारी ठगीमा प्रहरी हिरासतमा रहेको व्यक्तिको पक्षमा आन्दोलन गर्ने तर आन्दोलन कसले गरेको हो भन्ने पहिचान लुकाएर सहकारी पीडितकै आन्दोलन जस्तो गरेको देखिन्छ-सुप्रिम सहकारी बुटवलबाट ठगिएका भीम भण्डारी भन्छन्-‘यो हामीजस्ता सहकारी पीडितहरुको भावनामाथिको खेलवाड हो।’
भण्डारीले सहकारी पीडितहरुलाई झुक्याउने गरी रास्वपाले पार्टीको पहिचान लुकाएर प्रदर्शन गरिरहेको बताए। ‘जसलाई सहकारी ठगीको अभियोगमा पक्रेर अनुसन्धान भइरहेको छ त्यसैको समर्थनमा सहकारी पीडितलाई न्याय दे भनेर आन्दोलन भइरहेको छ, यो लाजलाग्दो कुरा होइन ?’-उनी भन्छन्-‘रास्वपाले सहकारी पीडितलाई न्याय दिन रविमाथि अनुसन्धान गर्न दिनुपर्छ, उनकै पक्षमा आन्दोलन गर्ने अनि सहकारी पीडितहरुको पक्षमा उभिएजस्तो गर्ने गरेर रास्वपाले दोहोरो चरित्र देखाइरहेको छ।’
आन्दोलनमा राष्ट्रिय झण्डाको प्रयोगका सन्दर्भमा वरिष्ठ अधिवक्ता शिव गौडेल राष्ट्रिय झण्डाको दुरुपयोग भएको बताउँछन्। ‘राष्ट्रियताको प्रतीकलाई कसैको पक्ष वा विपक्षमा प्रयोग गरिनुहुदैन, पार्टीले आन्दोलन गर्ने अनि राष्ट्रिय झण्डामात्रै प्रयोग गर्ने र आफ्नो पार्टीको झण्डा प्रयोग नगर्ने गरिएको छ भने त्यो सरासर दुरुपयोग हो।’
राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन। कार्यविधिले राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन निषेध गरेको छ। यस्तै, चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन। मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठक भने झण्डाको अपमान नगरेको दाबी गर्छन्। उनी भन्छन्-‘हामीले पार्टीविशेषको आन्दोलन गरेका होइनौं, सरकारले राज्यका स्रोतसाधन प्रयोग गरेर नयाँ दलहरुप्रति जुन व्यवहार गरिरहेको छ र जनतामाझ जानका लागि अलमल्याउन खोजिरहेको छ त्यसका विरुद्धमा हामी अरु शक्तिहरुसँग समेत मिलेर आन्दोलन गरिरहेकाले पार्टीको झण्डा र नाम नराखिएको हो।’
रवि लामिछानेलाई किन ल्याइयो भैरहवा ?
करिब साढे तीन सातादेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेले अर्को सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका क्रममा मङ्गलवार र बुधबार रुपन्देहीमा बयान दिएका छन्।
पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने तत्कालीन रूपमा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले नै गरेको भनिएको रकम अपचलनको अर्को विषयलाई लिएर उनलाई मङ्गलवार मध्याह्न विमानमार्फत् रुपन्देही ल्याइएको हो।
गोर्खा मिडिया नेटवर्कले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट करिब १४ करोड रुपैयाँ हिनामिना गरेको विषय पहिल्यै अनुसन्धानबाट खुलेको थियो।
पछिल्लो संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई रुपन्देहीमा ल्याएर अनुसन्धान अगाडि बढाइएको रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन्।
"त्यही फाइलको सिलसिलामा पछि बुझाइएको संसदीय प्रतिवेदनका आधारमा वहाँलाई ल्याएर बयान गराइएको हो," उनले भनिन्।
रुपन्देहीमा लामिछानेसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएकामा केहीको बयान लिने काम भइसकेको छ। संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिन रवि लामिछानेको कुनै प्रत्यक्ष भूमिका फेला नपरेको भएपनि उनीसम्बद्ध टेलिभिजनमा सहकारीबाट लिइएको ऋण लगानी भएको ठहर गरेको थियो।
‘मङ्गलवार ल्याएलगत्तै सरकारी वकिल कार्यालयमा बयानका लागि लगेका छौँ। बढीमा तीन दिनभित्र बयान लिएर पोखरा नै पठाउने हाम्रो योजना छ,- रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले भनिन्-यहाँ वहाँलाई ल्याउने, अदालतमा पेस गराउने र पठाउने काम मात्र हुन्छ।’
संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिन रवि लामिछानेको कुनै प्रत्यक्ष भूमिका फेला नपरेको भएपनि उनीसम्बद्ध टेलिभिजनमा सहकारीबाट लिइएको ऋण लगानी भएको ठहर गरेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij