२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डेबिस कपमा भाग लिन बहराईन जान लागेका ज्ञवालीलाई बिदाई

बिहिवार , कार्तिक २९, २०८१

भैरहवा, २९ कार्तिक । डेबिस कपमा नेपालबाट अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टीमको नेतृत्व गर्ने टीम व्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीसहित क्रियाशील पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेका ज्ञवालीले लनटेनिस विकासमा लागेको अनुभव बताउँदै २०५८ सालदेखि निरन्तर लागेको बताए । लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए । नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टीमको नेतृत्वमा जाने भएका हुन । 

नोभेम्बर १८ देखि २४ तारिखसम्म बहराईनमा हुने डेबिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट र प्रजना मानन्धर रहेका छन् । 

पुरुष टीम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टीमको प्रशिक्षक सरद लामा, महिला टीम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरी १४ जनाको टीम मंसिर १ गते काठमाडौंबाट बहराइनका लागि प्रस्थान हुनेछ । नेपालको रेकिङ १५ स्थानमा रहेको छ । 

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए । रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टीमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए । 

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मञ्चका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।