
बिहिवार , कार्तिक २९, २०८१
बुटवल, २९ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरले १८ औं पटक विश्व मधुमेह दिवस साइक्लोथोन कार्यक्रम गरेको छ ।
केन सेन्टर र बुटवल युनाइटेड साइकलिङ क्लबको सहकार्यमा रुपन्देहीका साईक्लिष्टहरु सहभागी र्याली योगीकुटीबाट सुरु भएर बुटवल कालिकापथ हुँदै नेपालगंज रोड, हाटबजार, गोलपार्क, ट्राफिकचोक, योगीकुटी, वनवाटिका, मणिग्राम हुँदै शंकरनगरमा औपचारिक रुपमा समापन गरिएको थियो ।
नेपालमा मधुमेहको जोखिम बढ्दो छ । एक सर्वेक्षणको अनुसार नेपालमा करिब २५ लाख नेपालीहरू मधुमेहबाट पीडित छन् भने ५० प्रतिशत नेपालीहरूमा मधुमेहको पहिचान भएको छैन। नेपालमा करिब २१ प्रतिशत मानिसहरू मोटोपनका शिकार भएको अनुमान गरिएको छ । त्यसैले मधुमेहको सबैभन्दा ठूलो जोखिम कारक भनेको बढी तौल वा मोटोपन र शारीरिक आलस्यता हो । यस्तो अवस्थामा मानिसले आफ्ना सामान्य जीवनशैलीहरू परिवर्तन गर्नुपर्छ । तौल घटाउनु, स्वस्थ खाना खानु, नियमित शारीरिक गतिविधिहरूले मधुमेह हुनबाट बच्न र बचाउन सकिन्छ ।
कार्यक्रममा केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले विश्व मधुमेह दिवस विगत २२ वर्षदेखि मनाउँदै आइरहेको बताए । समुदायमा सचेतना जगाउनु अहिलेको सबैभन्दा जरुरी रहेको उनको तर्क छ । बिरामीहरूलाई रोगबारे परामर्श दिँदै आइरहेका कक्षपतिले साइकल चढ्ने बानीले शरीरलाई सम्पूर्ण शारीरिक अभ्यास हुने हुँदा फाइदा मिल्ने बताए । मधुमेहको समयमा नै उपचार गरी भविष्यमा हुने जटिल समस्याहरूबाट बच्न जरुरी छ ।
नेपालमा मधुमेहबाट हुने जटिल समस्याहरूमध्ये आँखाको समस्या, मृगौलाको समस्या, मुटुको समस्या र पक्षघातका समस्या धेरै पाइएको छ । खानपिनबारे राम्रो जानकारी नहुनु र स्वस्थ जीवनशैली नअपनाउनु मधुमेह वा अन्य रोग हुनको लागि उपयुक्त वातावरण भन्ने हुँदा बेलामै सतर्कता अपनाउन जरुरी छ । कार्यक्रममा बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साईकल र मानव स्वास्थ्यको सम्बन्ध बारे प्रष्ट्याउदै नियमित साईक्लिङको फाइदाहरुबारे बताए । र्यालीमा ३ दर्जन साईक्लिष्टहरु सहभागी रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij