
शनिवार , मंसिर १, २०८१
भैरहवा, १ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले बालबालिका बीमा कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालय र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार भीम अस्पताल, युनिभर्सल इन्ष्टिच्यूट अफ मेडिकल कलेज र यो संस्थाहरुले रिफर गरेका २०८१ साउन १ गतेदेखि जन्मिएका बालबालिकाहरुलाई यो बीमा योजनामा समावेश गरिनेछ । जन्मिएका बालबालिकाको आमा वा बुवामध्ये एकजनाको बीमा गर्नुपर्ने र यो योजनामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ भित्रका बासिन्दालाई मात्र समावेश गराइने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. भैरहवा शाखा प्रमुख राजु कुँवरले बताए ।
बालबालिकाको बुवा वा आमाको उमेरको आधारमा निर्धारण गरी अधिकतम रु. २० हजारको सेरोफेरोमा रही बीमाशुल्क एकमुष्ट रुपमा एकपटक मात्र उपलब्ध गराइनेछ । ‘२० वर्षपछि भुक्तानी हुने बेलामा बीमा कम्पनीको नियमानुसार बीमांक रकम र सो ले आर्जन गरेको बोनससहित एकमुष्ट बीमितलाई उपलब्ध गराइनेछ, बीमाशुल्क रकम वडा कार्यालयले तिर्नेछ, ’उनले भने । उनले वडा नम्बर ४ ले प्रशंसायोग्य कार्य गरेको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडाबासीले तिरेको कर वडाबासीकै लागि खर्च गर्नुपर्छ भन्ने सोचका साथ बालबालिका बीमा कार्यक्रम ल्याइएको बताए । उनले यो कार्यक्रमका लागि आर्थिक वर्ष २०८१/०८२ मा पाँचलाख बजेट विनियोजन गरिएको जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।
सिद्धार्थनगर–४ का स्थानीय अनिश थापाले वडा कार्यालयले साह्रै राम्रो कार्यक्रम ल्याएको बताए । उनले भने, ‘भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्छ ।’
स्थानीय विष्णु आचार्यले वडा कार्यालयले राम्रो कार्यक्रम ल्याएको बताइन् । उनले भनिन्, ‘वडाअध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु । यो कार्यक्रमबारे वडाबासीलाई हामीले पनि आफ्नोतर्फबाट जानकारी गराउनेछौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij