२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीको १३६ औं श्रृंखला : लिडरसीपमा ध्यानको महत्वबारे चर्चा

आइतवार , मंसिर २, २०८१

भैरहवा, २ मंसिर । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को १३६ औं श्रृंखला शनिबार सम्पन्न भएको छ । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित कार्यक्रममा लिडरसीपमा ध्यानको महत्वबारे चर्चा गरिएको थियो ।

विपश्यना ध्यानमा लामो अनुभव संगालेका धम्म जननी लुम्बिनीका ट्रस्टी साधक जीवलाल अर्यालले लिडरको जीवन जिउने कलामा विपश्यना ध्यानको अभ्यासबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्यालले भने, ‘आजका राजनीतिकर्मी हुन् वा सामाजिक संघ–सस्थाका जोसुकै लिडरले होस्  विपश्यना ध्यान बुझ्झ् सके समाज परिवर्तनमा लिडरहरु अशल उत्प्रेरक  हुन् सक्छन् ।

कार्यक्रममा एलएसडीटी सदस्यहरुले चाडपर्वका समयमा आफूले अनुभव गरेका रोचक घटना क्रमहरु प्रस्तुत गरेका थिए । सदस्य रश्मी लोहनी,  रीता थापा र धन कुमारी कार्कीले आफ्नो नियात्राको अनुभव राखेका थिए । त्यस्तै बाल मंच सदस्यहरु सीमा पाण्डे र प्रवल पन्तले पनि आफ्नो अनुभव साझा गरेका थिए ।

एक फरक प्रसंगमा पर्यटन व्यवसायी संजीवराज जोशीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबारे चर्चा गरेका थिए ।

हरेक शनिबार बिहान ८ बजेदेखि सञ्चालन हुने कार्यक्रममा हुने  उपस्थितिले आयोजकलाई हौसला मिलेको भन्दै कार्यक्रमका अध्यक्ष एवं सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम संयोजक एवं एलएसडीटीका सदस्य व्यवसायी प्रकाश रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एलएसडीटीका सदस्य व्यवसायी टंकप्रसाद आचार्यले गरेका थिए । 

LSDT (2).jpeg

एलएसडीटी विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । सुरुमा सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीका निम्ति सञ्चालित तालिम अहिले सबैका निम्ति लोकप्रिय हुँदै गएको प्रारम्भिक सहजकर्ता तथा एलएसडीटी सम्पादन समितिका सदस्य मदन प्रसाद पौडेलले बताए । तालिमको प्रारम्भ ध्यानबाट हुने गर्छ । कार्यक्रममा ब्रह्माकुमारी आकृतिले ध्यान गराउनुभएको पौडेलले जानकारी दिए ।

एलएसडीटीको संस्थापक विजय पाण्डेले हुन् । यो निःशुल्क सञ्चालन हुन्छ । यसको व्यवस्थापन स्वेच्छिक योगदानबाट हुने गरेको एलएसडीटी सम्पादन समितिका सदस्य हरिश सेठियाले सुनाए । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् ।