
मंगलवार , मंसिर ४, २०८१
भैरहवा, ४ मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ का किसानहरुले गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । मल वितरण गर्ने सहकारीले मल वितरणमा विभेद गरेको भन्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरई र वडाध्यक्ष गनेश चौधरीलाई किसानहरुले आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
मर्चवारी गाउँपालिका वडा नम्बर ६ र ७ मा मल वितरण पाएको श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले आफ्ना नजिकको किसानलाई मात्र मल वितरण गरेको सतचण्डी कृषक समूहका अध्यक्ष विद्या सरन पालले बताए । उनले दुवै वडाको लागि आएको मललाई संस्थाले एउटै वडामा पर्ने गरी समिति व्यक्तिहरुलाई मात्र मल वितरण गरेको उनले आरोप लगाए ।
‘मर्चवारी गाउँपालिका वडा नम्बर ७ मा रहेको श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले वडा नम्बर ७ मा एउटा मात्र सहकारी संस्था वडा नम्बर ७ मा कृषकलाई अनुदानवापतको रासायनिक मल समूहका सदस्य, शेयरधनी, नातावाद, जातीवाद गरी राती १२ बजे समेत वितरण गरेको अवस्था छ । शेयर सदस्य, स्वावलम्बनका समूहलाई मात्र वितरण गर्दा वडा नंम्बर ७ का अरु किसान होइनन् ? किसान हुन भने ७ नंम्बर वडाका अरु किसानले कहाँबाट मल प्राप्त गर्ने त्यो कसरी कहाँबाट हुन्छ । यसको व्यवस्था मिलाइदिनुहुन विनम्र अनुरोध गर्दछौँ । साथै सो सहकारी संस्थाले नियमविपरीत कार्य गरेकोले अनुसन्धान गरी कारवाहीको समेत माग गर्दछौं,’ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आगामी दिनमा वडा कार्यालयमार्फत मल वितरण गर्ने व्यवस्था मिलाउने बताए । वडा नंम्बर ६ र ७ को लागि आउने मल वडाअध्यक्षको नेतृत्वमा वडाभित्रका किसानहरुलाई समान रुपमा मल उपलब्ध गराउने अध्यक्ष बरईले किसानहरुलाई आश्वासन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij