
मंगलवार , मंसिर ४, २०८१
भैरहवा, ४ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्, ‘कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भ्कि निस्कर्ष छ । प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए । उक्त आरोपपछि महासचिव पोखरेलले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ । प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij