२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

विश्कप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टीमलाई भैरहवामा विदाई

बुधवार , मंसिर ५, २०८१

  • 706
    Shares
  • 706
    Shares
  • भैरहवा, ५ मंसिर । विश्व कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टीमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टीमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टीम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।

    टीममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टीमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्व कपमा नेपाली टीमले प्रतिष्पर्धा गर्नेछ । खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका संस्थापक प्रेम कुमार सेन्चुरी, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।

    खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउन समेत महत्वपूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिए । उनीहरुले खेलमा जीत वा सिकाईमध्ये एक हुने बताउँदै उत्साहसहित प्रदर्शन गर्नका लागि आग्रह गरे । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगति सबैका लागि प्रेरणा भएको समेत उनीहरुले जनाए ।

    पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकप चौथो संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टीमका कप्तान रमेश बहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभए पनि केही समयको तयारीले विश्व कप खेल्न जान लागेको जनाए । पछिल्लो समय नेपाल क्रिकेट संघले केही सहयोग गरे पनि अन्य सहयोग नपाएको उनको गुनासो छ । छोटो समयको तयारी भए पनि आफूहरुले उपाधि जित्ने विश्वास लिएर टीम एकढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताए ।