
बुधवार , मंसिर ५, २०८१
भैरहवा, ५ मंसिर । लामो समयसम्म सडकमै गरिने ट्रक पार्किङले व्यवसायमा गम्भिर असर पुगेको व्यवसायीले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडको लुम्बिनीरोडस्थित कार्यालयमा आउने ट्रकहरु लामो समयसम्म सडकमै पार्किङ गरिदा पर्यटक र स्थानीय सर्वसाधारणलाई समेत समस्या भएको व्यवसायीको गुनासो छ ।
होटल सनस्टार प्रा.लि.लुम्बिनीरोड, भैरहवाका सञ्चालक राजेश महोत्राले कृषि सामग्री कम्पनी लिमिटेडमा आउने ट्रकहरु लामो समयसम्म सडकमै पार्किङ गरिदा समस्या भएको उल्लेख गरे । उनले भने, ‘समस्या समाधानका लागि सम्बन्धीत कार्यालयसँग पनि कुराकानी गरेका छौं, समाधान हुन्छ भन्ने जवाफ आयो, तर हालसम्म पनि समाधान हुन सकेको छैन ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित एसियन बुद्ध होटलका सञ्चालक तिलकराम घिमिरेले लामो समयसम्म सडकमा ठडाईने ट्रकका कारण सवारी दुर्घटनाको जोखिम समेत बढेको बताए । ‘यसले आवातजावतमा समस्या भएको छ, केही हप्ता अगाडि हाम्रो होटलमा आएका पाहुनाको सवारीसाधन ट्रकमा ठोक्किएको थियो । धन्न ठूलो दुर्घटना हुन पाएन । सडकमा गरिने पार्किङलाई ट्राफिक प्रहरीले पनि तत्काल व्यवस्थापन गर्नुपर्छ ।’सडकमा पार्क गरिने ट्रकका कारण पर्यटन प्रवद्र्धनमा पनि ठुलो असर पुगेको व्यवसायीको गुनासो छ ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख तीर्थ न्यौपानेले भने व्यवसायीहरुले भनेको जस्तो समस्या नभएको दावी गर्छन् । उनले कार्यालयभित्र २५÷३० वटा मालबाहक सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेकाले त्यस्तो खालको समस्या नभएको दावी गरे ।
विशेष गरी मल ल्याउने समयमा धेरै संख्यामा ट्रक आउने भए पनि यो अवस्था कहिलेकाही मात्रै हुने उनको भनाइ छ । ‘हामीकहाँ मल ल्याउने समयमा मात्रै मालबाहक सवारी (ट्रक) को संख्या धेरै हुने हो, त्यो पनि कहिलेकाही मात्रै हुन्छ’ न्यौपानेले भने, ‘हाम्रो कार्यालयभित्रै पार्किङ सुविधा भएका कारण सधै समस्या हुँदैन तर, कहिलेकाही भने ८०/९० वटा मालबाहक ट्रकहरु आउँछन्, त्यतिबेला सडकमा पार्किङ गर्नुपर्दा केही समस्या भएको हुन सक्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु क.सी.ले भैरहवामा पार्किङ व्यवस्थापनका लागि सबै पक्ष मिलेर पहल गर्नुपर्ने बताइन् । उनले सबैको पहलमा मात्रै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सक्ने उल्लेख गरिन् । उनले भैरहवा भन्सार कार्यालय अगाडि तथा कृषि सामग्री कम्पनी लिमिटेड अगाडि मालबाहक ट्रकहरु सडक छेउमा पार्किङ गर्नुपर्ने समस्या रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा सबैले सोच्नुपर्नेमा जोड दिइन् । ‘भन्सार कार्यालयको आईसीपी नबन्दासम्म सडक छेउमै पार्किङ गर्नुपर्ने समस्या छ । यो समस्यालाई ट्राफिक प्रहरीले मात्रै केही गर्न सक्ने अवस्था छैन, सर्वपक्षीय छलफलबाट मात्रै समस्याको समाधान हुन सक्ला, ’के.सी.ले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij