
बुधवार , मंसिर ५, २०८१
बाँके, ५ मंसिर । बाँके जिल्लामा राप्ती नदीमा आउने बाढीका कारण डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बुधवार राप्ती नदीले कटान गरेको स्थलहरुको अवलोकन गर्दै नागरिकहरुले भोग्दै आएको डुबान र कटानको समस्या समाधान गर्ने गरी अल्पकालिन र दिर्घकालिन समाधानका योजनाहरु अघि सारिने बताएका छन् ।
राप्ती सोनारी गाउँपालिका–७ खल्लाझगडियामा डुबान र कटानको समस्या बढ्दा मानव वस्ती उच्च जोखिममा परेको छ । स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले डुबान र कटानको उच्च जोखिम रहेका स्थलहरुको पहिचान गरेर तटबन्धको योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘राप्ती नदीमा आउने बाढी र त्यसले पुर्याउने जोखिम न्यूनिकरण गर्न अल्पकालिन र दीर्घकालिन योजना अघि बढाउनुपर्छ । यसमा प्रदेश सरकारले पहल लिन्छ’मुख्यमन्त्री आचार्यले भो,‘जहाँ जोखिम छ, त्यहाँ तटबन्धको आयोजनाको काम अघि बढाउन जरुरी छ ।’
राप्ती नदीमा आउने बाढीका कारण बाँकेका नदी तटीय क्षेत्र सधैं डुबानमा पर्ने गरेका छन् । स्थानीयहरु विस्थापित हुने र खेतियोग्य जमिन बगरमा परिणत हुँदा समस्या बढ्दै गएको छ । नरैनापुर गाउँपालिका डुबान र कटानका कारण पूर्ण प्रभावित हुदै आएको छ भने राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को ७५ प्रतिशत भुभाग प्रभावित हुदै आएको स्थानीय पूर्णबहादुर चौधरीले बताए । ‘राप्ती नदीले कटान तीव्र पार्दा हाम्रो उठिवास हुने अवस्था आयो । सरकारले समयमा तटबन्ध नगरे हामि विस्थापित हुने जोखिम छ’उनले भने,‘समस्या समाधान गर्ने गरी कार्यक्रम चले राम्रो हुन्थ्यो ।’
राप्ती नदी तटबन्धका लागि संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम गर्दै आएको छ । तर, यो कार्यक्रमबाट तटबन्ध सञ्चालन गर्न बजेट अभाव हँुदा स्थानीयहरु नदी कटान र डुबानको जोखिममा बस्नुपर्ने बाध्यता छ । जोखिम क्षेत्रको अवलोकन गर्न मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय बासिन्दासँग छलफल समेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij