२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

शुद्धोधनमा ३१९९ बालबालिकाको पोषण अवस्थाको लेखाजोखा गरिने

बिहिवार , मंसिर ६, २०८१

  • 922
    Shares
  • 922
    Shares
  • भैरहवा, ६ मंसिर । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ३ हजार १ सय ९९ जना बालबालिकाहरूको पोषण अवस्थाको लेखाजोखा गरिने भएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्थाको लेखाजोखा मुआक स्क्रिनिङ क्याम्प कार्यक्रम शुभारम्भ गरिएको छ । सेतोगुराँस बाल विकास सेवा रूपन्देहीद्वारा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको सहयोग समन्वय तथा गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।

    शुद्धोधन गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्यहरु सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका उपाध्यक्ष उमा भण्डारी, कोषाध्यक्ष गोमती सुनार, तथ्यांक अधिकृत चेतना ज्ञवाली सामुदायिक परिचालक सन्तोष पन्थी, लक्ष्मी पाण्डे घिमिरे, मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पतल गिरी, स्वास्थ्यकर्मी हिराकुमारी कंडेल, महिला स्वास्थ्य स्वयंसेविका गोमा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले शुद्धोधन गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका निर्माणमा पालिका अग्रसर भई काम गरिरहेको बताए । उनले सबैको साथ र सहयोगबाट पालिकालाई पोषणमैत्री पालिका निर्माण गर्न मद्दत पुग्ने धारणा राखे ।

    शुद्धोधन गाउँपालिकामा ४६ स्थानमा मुआक स्क्रिनिङ क्याम्प सञ्चालन गरिने र जसमा ३ हजार १ सय ९९ जना बालबालिकाहरूको पोषण अवस्था पहिचान गर्ने लक्ष्य रहेको सेतोगुराँस बालिका सेवा रुपन्देहीका कर्मचारी सन्तोष पन्थीले जानकारी दिए ।

    त्यसै गरी कुपोषित बालबालिका पहिचानसहित उपचार गरिने कार्यक्रम भएका कारणले पोषणमैत्री पालिका निर्माणमा यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका प्रवक्ता केशव प्रसाद अधिकारीले बताए ।

    कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समिर भण्डारीले कडा शीघ्र कुपोषणलाई आरयुटीएफ र मध्यम शिघ्र कुपोषणलाई सुपर सिरियल प्लसको माध्यमबाट बच्चाहरूको उपचार गरी निको गराउने र पालिकामा कुनै पनि कुपोषित बालबालिका उपचारको नछुटुन भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताए ।