
शुक्रवार , मंसिर ७, २०८१
काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् । समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।
‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा संकट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।
कांग्रेस–कम्युनिष्टको विकल्पमा समाजवादी आन्दोलनलाई अगाडि बढाउने संकल्प गरेका समाजवादीहरु नै आज कांग्रेस कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।
‘समाजवादी आन्दोलनलाई कांग्रेस–कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोशिस भइरहेको छ, बेलैमा सजग र सचेत भइ अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।
बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्ष अघि आजको दिन अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij